काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले पछिल्लो २०/२५ वर्ष नेपाली क्रिकेटले अन्तरराष्ट्रियस्तरमा धेरै फड्को मारेको बताएका छन्।
धुम्बाराहीमा बुधवार सम्पन्न काठमाडौँ जिल्ला क्रिकेट संघको छैटौँ साधारणसभाका अवसरमा क्यानका सचिव खड्काले नेपाली क्रिकेटको यो सफलता सहज नभए पनि सबै पक्षले आ–आफ्नो क्षेत्रबाट काम गर्दा सफल भएको बताएका छन्।
अहिले नेपाली क्रिकेट स्थिरताको बाटोमा हिँडिरहेको उल्लेख गर्दै एकदिवसीय मान्यता पाउने क्रममा धेरै चुनौती सामना गर्नुपरेको क्यानका सचिव खड्काको भनाइ छ।
उनले पहिला क्रिकेटमा श्रोतहरू धेरै कम रहेको पनि उल्लेख गरेका छन्। तर सबै कुराहरू बिर्सेर ४५ जिल्ला, सात प्रदेश र नेपाली खेलकुदका कार्यकारी निकायहरुले नेपाली क्रिकेटलाई अगाडि बढाउनुपर्ने उनको भनाइ छ।
नेपाली क्रिकेट टोलीका पूर्वकप्तानसमेह रहेका पारसले गर्नुपर्ने कामहरू धेरै रहेको र जसलाई केन्द्रले मात्र गरेर साध्य नहुने पनि उल्लेख गरेका छन्।











