काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारका पूर्वमुख्यमन्त्री तथा तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ बहादुर सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा सोडारीविरुद्ध एक करोडभन्दा बढीको गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपसहित आरोपपत्र दायर गरेको हो ।
आयोगको अनुसन्धान अनुसार सोडारीले सार्वजनिक पदमा रहँदा वैधानिक आम्दानीभन्दा रु. १,०८,३८,३०२.५७ बढी खर्च र लगानी गरेका थिए । सार्वजनिक पदधारण गरेको २०७४ साल माघ ७ देखि २०७९ साल फागुन १० सम्मको जाँचमा उनले प्राप्त वैधानिक आय रु. ८५ लाख ५१ हजार ३ सय ३४ रहेको देखिएको थियो ।
तर सोही अवधिमा उनले घर निर्माण, जग्गा खरिद, शेयर लगानी, छोराको विवाह, प्रदेशसभा निर्वाचन खर्च, र विभिन्न आर्थिक कारोबारमार्फत कुल रु. १ करोड ९३ लाख ८९ हजार ६ सय ३७ रुपैयाँ खर्च गरेको पाइएको छ ।
आयोगले सोडारीले पदीय हैसियतको दुरुपयोग गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गर्दै अस्वाभाविक उच्च जीवनशैली अपनाएको प्रमाणित भएको दाबी गरेको छ । सोडारीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१), २०(२), १६(२), २४ र दफा ४७ बमोजिम कारबाहीको माग गर्दै आरोपपत्र दायर गरिएको हो ।
यससँगै, आयोगले सोडारीले आर्जन गरेको स्रोत नखुलेको सम्पत्तिबाट श्रीमती गीता सोडारी र छोरा बबि सोडारीको नाममा रहेको सम्पत्ति (जग्गा, घर, बैंक मौज्दात आदि) पनि जफत गर्नुपर्ने मागदाबी गरेको छ ।
आयोगले सार्वजनिक पदमा रहेका व्यक्तिहरूबाट कानून विपरीत आर्जन गरिएका सम्पत्तिको अनुसन्धानलाई सशक्त बनाउँदै जाने बताएको छ । यस मुद्दालाई विशेष अदालतले प्राथमिकताका साथ हेर्ने अपेक्षा गरिएको छ ।











