काठमाडौं । खोटाङ जिल्लामा निर्माणाधीन सडक आयोजनाको रनिङ बिल भुक्तानी गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागी लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ओखलढुंगा सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालयमा कार्यरत इन्जिनियर सन्तोष कुमार यादवविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारका अनुसार इन्जिनियर यादवले खोटाङमा निर्माणाधीन सडकको पाँचौं रनिङ बिल स्वीकृत गरी भुक्तानी प्रक्रिया अगाडि बढाइदिएवापत सेवाग्राहीबाट २०७८ साल चैत ८ गते रु. १,००,००० घुस लिएका थिए । त्यसपछि छैठौं बिल भुक्तानी प्रक्रियाको सन्दर्भमा २०८२ साल जेठ १ गते थप रु. ५,७०,००० लिएको अख्तियारको अनुसन्धानबाट पुष्टि भएको छ ।
जम्मा रु. ६ लाख ७० हजार घुस लिएको पुष्टि भएपछि अख्तियारको टोलीले २०८२ साल जेठ २२ गते यादवलाई सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा रंगेहात नियन्त्रणमा लिएको थियो ।
यादवमाथि भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) अनुसार कसुर ठहर गरी सोही ऐनको उपदफा (१) को देहाय (ङ) अनुसार कैद सजाय र बिगो बमोजिम जरिवाना हुन माग गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।
प्रवक्ता राजेन्द्र कुमार पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा भ्रष्टाचारविरुद्ध आयोगको शून्य सहनशीलता नीति दोहोर्याउँदै कानुनी प्रक्रिया अघि बढाइएको उल्लेख छ ।











