काठमाडौं । मलेसियामा जारी एसीसी यु-१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपालले इन्डोनेसियामाथि ३७० रनको फराकिलो जित निकालेको छ ।
क्वालालम्पुरस्थित सेलेङ्गोर टर्फ क्लबमा नेपालले दिएको ४२१ रनको विशाल लक्ष्य पछ्याएको इन्डोनेसिया २४.३ ओभरमा सबै विकेट गुमाएर ५० रनमा समेटियो । इन्डोनेसियाका लागि केभिन निरजले सर्वाधिक १५ र डिभिट नन्दले १४ रन जोडे । अन्य ब्याटरले भने दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेपालका कप्तान विपिनप्रसाद शर्मा एक्लैले ६ विकेट लिए । यस्तै, शुभमन खनाल र सुगम बुढाथोकी समान १-१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभर खेल्दै ५ विकेटको क्षतिमा ४२० रनको योगफल तयार पारेको हो । नेपालका लागि ओपनर प्रशिद्ध जैसीले १३२ रनको योगदान दिए । ११४ बल खेलेका प्रशिद्धले १५ चौका र १ छक्का प्रहार गरेका थिए ।











